बागमती प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दलबिच ५ बुँदे सहमति

काठमाडौं, ७ असार । बागमती प्रदेश सरकारको बजेटप्रति प्रतिपक्ष मात्र नभइ सत्तापक्ष दल पनि असन्तुष्ट थिए । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल यी विवादलाई साम्य पार्न प्रमुख प्रतिपक्ष दलबिच ५ बुँदे सहमति भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक अवरोध गरेपछि शुक्रबार सरकार, सत्ता पक्षमा रहेका राजनीतिक दल र प्रमुख प्रतिपक्षबिच पाँच बुँदे सहमति भएको हो । यो सहमतिसँगै बागमती प्रदेशसभाको अवरोध हटेको छ ।

प्रतिपक्ष दलले बजेटप्रति उठाएका असहमतिका सवालमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलका लागि टेबल गर्नुअघि वक्तव्यमार्फत पेन ड्राइभमा भएको विवरण (प्राविधिक त्रुटि) सच्चाएर किताब प्रकाशन गरी ल्याएको जानकारी गराउने पहिलो सहमति रहेको छ । त्यसैगरी प्राविधिक र कानुनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने पनि सहमति भएको छ ।

त्यस्तै प्रतिपक्ष दलहरूको मागअनुसार कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्न सरकार पक्ष सहमति भएको छ । सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकटटेल, आर्थिक मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्ण खनाल तथा प्रतिपक्षका तर्फबाट बहादुरसिंह लामा र उद्धव थापाले हस्ताक्षर गरेका छन् ।

बजेटमाथि विरोध गर्दै बिहीबारदेखि प्रदेशसभा बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले अवरोध गर्दै आएका थिए ।
यो सहमतीसंगै सबै पार्टीका अवरोधहरु हट्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्