पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन कांग्रेस उपसभापति गुरुङको माग

काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले सरकारसँग पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

उनले मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको तर्कछ ।

उनले भने, ‘आर्थिक सुशासनका लागि मेरो प्रश्ताव हो यो–५ सय र हजारको नोट क्विट गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरुलाई म यो निवेदन गर्न चाहन्छु सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्विट गरेर जान आवश्यक छ ।’

उनले ती नोटहरु प्रतिबन्ध गरेमा मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे । उनले अवैध रुपमा राखिएका धनराशी पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे ।

‘यदि यी ५०० र १००० हजारका नोटहरु क्विट गर्‍यौं भने ८० प्रतिशत गैरकानूनी कारोवार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र, ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’

उपसभापति गुरुङले सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताए । यसप्रति राज्यको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्