एडिविद्वारा मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान
बाठमाडौं, ५ असार । एशियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९ दशमलव ७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।
बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीले २ अर्ब भन्दा बढी नेपाली रुपैया अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए ।
२ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसंगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।
प्रतिक्रिया दिनुहोस्