धार्मिक विविधतालाई समृद्ध, सहिष्णुता एवं सहकार्य विकास होसः प्रधानमन्त्री दाहाल

काठमाडौं, ३ असार । प्रधानमन्त्री दाहालले बकर इद (अल-अजहा) को अवरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल-अजहा) को महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (अल-अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए ।

प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका बताए।

उनले आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नेपाल सबै धर्म र सस्ंकृतिको साझा थलो हो ।

 

प्रतिक्रिया दिनुहोस्