धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा नगएका ३ जनालाई बुधबार पुनः बोलाइयो

काठमाडौं,२ असार । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ‘सर्ट लिस्ट’मा परेर पनि कार्यायोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी नभएकालाई पुनः असार ५ गते बोलाइएको छ ।

अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले आज आइतबार एक सूचना प्रकाशित गर्दै ३ जनालाई बुधबार बिहान ९ बजेका लागि पुनः बोलाएको हो ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएर ‘सर्ट लिस्ट’ मा परेका ५ जनाको आज आइतबार कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताको समय तोकिएको थियो । सो को लागि ५ जनामध्ये २ जनाले मात्रै सहभागिता जनाए । बाँकी तीन जना अनुपस्थित रहेका थिए । ‘सर्ट लिस्ट’ मा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए ।

बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र तत्कालिन बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अन्तर्वार्तामा उपस्थित भएनन् । उनीहरुलाई पुनः बुधबार कार्यायोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको हो ।

अध्यक्ष सिफारिस समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार ३ जनाको नाम सिफारिस गर्न नमिलेपछि पुनः अन्तर्वार्ताका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्