‘वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई दिइने क्षतिपूर्ति १० लाख पुर्‍याइने: श्रम तथा रोजगार मन्त्री डिपी

काठमाडौं, २ असार । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन् ।

श्रम मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सय दिनको उपलब्धि सुनाउँदै श्रम मन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्‍याउने तयारी गरेको बताएका हुन् । ‘वैदेशिक रोजागरीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाइ १० लाखसम्म पुर्‍याउँने प्रस्ताव मन्त्रालयले अघि बढाएको छ ।’ उनले भने ।

उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनका उपलब्धि सुनाउँदै मन्त्रालयबाट तत्काल सुधारका र नीतिगत सुधारका कामहरु भएको बताए । ‘श्रम स्वीकृति लिने प्रक्रियालाई चुस्त बनाएर एक घण्टाभित्रै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेका छौं, उनले भने, ‘यद्यपि, सोचेजस्तो हुन सकेका छैन, सुधारको काम बाँकी छ ।’

यस्तै श्रमिकका लागि श्रमाधान योजना अघि बढाएको बताए । जस अन्तर्गत श्रमिकको गुनासो सुन्न र जिज्ञशा मेटाउन श्रमाधान कल सेक्टर सुरु गरेको बताए । उनले अझै स्तरीय र प्रभावकारी बनाउने काम भइरहेको सुनाए ।

यस्तै युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्दश्यले मन्त्रालयले देशभरका सातैवटा प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिएको बताए ।

यस्तै वैदेशिक रोजगारीमा जादा श्रमिकलाई लाग्ने आर्थिक भार, अंग्रेजीमा भाषा अनिवार्य गर्ने जस्ता ल्याएको विवास्पद कार्यविधि खारेज गर्ने जस्ता नीतिगत सुधारका काम भएको बताए । उनले साउनबाटै अनलाइनबाटै मागपत्र प्रमाणीकरण गर्ने तयारी भइरहेको समेत बताए ।

यस्तै उनले ‘श्रमिकसँग श्रममन्त्री’ भर्चुअल संवाद पनि सञ्चालन गर्ने तयारी गरेको बताए । ‘आन्तरिक र वैदेशिक रोजगारीमा भएका श्रमिकका कुराहरु सुन्न भर्चुअल संवाद साउँनदेखि सुरुवात गर्ने तयारी गरेका छौं ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्