गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९६ करोडको बजेट

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।

गण्डकी प्रदेशको बजेटको आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोड घटाएर बजेट ल्याए हो । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो ।

गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जोड दिए पनि पूर्वाधारमै ठूलो बजेट छुट्याएको छ । व्यावसायिक कृषि र यसको रूपान्तरण गर्दै उत्पादन र रोजगारमा जोड दिएका छन् । कृषि कर्जामा जोड दिँदै गाँजा खेतीको कानुनी बाटो खोल्ने गुरूङले बताए । १२ अर्ब ७० करोड रूपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा बिनियोजन भएको छ ।

पोखरालाई पर्यटकीय राजधानीको रूपमा केन्द्रमा राखेर ग्रामीण पर्यटन, होमस्टेको विकास र ११ वटै जिल्लामा विशेष कार्यक्रम गर्ने उनले बताए । सामाजिक क्षेत्रका लागि २ अर्ब ९ करोड रूपैयाँ विनियोजन भएको छ ।

गण्डकी प्रदेशले सभाको भवन पनि निर्माण आगामी बर्ष सुरु हुने भएको छ । त्यसका लागि ९ करोड रूपैयाँ विनियोजन भएको छ ।

गण्डकीलाई आगामी वर्ष उज्यालो प्रदेश घोषणा गर्ने अर्थमन्त्री गुरूङले बताए । कम्तीमा ७० प्रतिशत घरमा खानेपानी धारा जडान गर्न ८ करोड रूपैयाँ छुट्याइएको छ । ४ अर्ब रूपैयाँ ऊर्जाको क्षेत्रमा छुट्याएको अर्थमन्त्री गुरूङले बताए ।

प्रतिक्रिया दिनुहोस्