नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु हो: गृहमन्त्री लामिछाने, पार्टीलाई संगठन आवश्यक: उपसभापति वाग्ले

काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् ।

आज काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रास्वपासँग आम नागरिकहरूको ठुलो आस रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको प्रष्ट्याए ।

उनले आम नागरिकको मत लिएर सरकारमा गएको रास्वपाले कुनै पनि नराम्रो काम गरेको बताए । रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठुलो कार्यभार रहेको भन्दै उनले उपलब्धि नै भ्रष्टाचारीको ठुला फाइल खोल्नुलाई लिइरहेको बताए । उनले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको शासन स्थापना गरेको दावी गरे । र्गहमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महसुस गरेको बताएका छन् । पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । वाग्लेले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए । उनले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गर्दै संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको समेत बताए ।

वाग्लेले भने, ‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ । अब कार्यकर्ता नै चाहिँदैन, पिओरली मासबेस पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन । यसैले यी दुई एक्स्ट्रिमका बिच हामीले मिडल पार्ट बनाउनु पर्नेछ । संगठन चाहिँदो रहेछ भन्ने कुरा, काठमाडौँमा अलि सजिलो होला । तर अन्य जिल्लाहरुमा त्यो हामीले देखिसक्यौँ । तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो ।’ उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए । उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताए ।

प्रतिक्रिया दिनुहोस्