ताप्लेजुङमा पहिरोले घर पुरिँदा परिवारका चार जनाको मृत्यु
काठमाडौं, ३२ जेठ । ताप्लेजुङमा लगातार वर्षापछि आएको पहिरोले घर पुरिँदा फाक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको परिवारका चार सदस्यको मृत्यु भएको छ।
गए राति गएको पहिरोले पुरिएर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको हो ।
फक्ताङलुङ–२ खेजेनिममा राती घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
७१ वर्षीय राम बहादुर साम्रा, उनकी श्रीमति जसमाया लिबाङ साम्रा र जुम्ल्याहा छोरीहरू १२ वर्षीया गंगा साब्रा र जमुना साम्राको मृत्यु भएको हो । जसमाया साम्रा गाउँपालिका उपाध्यक्ष रविनकी आमा हुन्।
घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको प्रनाउ रावलले बताए ।
गाउँपालिका अध्यक्ष राजन लिम्बुका अनुसार राती करिव २ बजेतिर घरमाथिबाट ठुलो पहिरो खसेर उनीहरूलाई पुरेको हो । पहिरोले उनीहरूको घरसँगै रहेको खोरमा रहेका ५० वटा बाख्रा र ३० वटा कुखुरा समेत पुरेर मरेको छ ।
पहिरोले अन्य दुई वटा घरहरू समेत पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए । पहिरोले घर पुरिँदा ४० वर्षीय युगेन साम्रा र उनकी २ वर्षीया छोरी घाइते भएका छन् ।
बुधबार रातिमात्रै ताप्लेजुङकै सिसेवा र सिस्ने खोलामा आएको बाढीले त्यस क्षेत्रमा चारवटा अस्थायी पुल बगाउँदा यातायात अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्