अमेरिकी फेडरल रिजर्भले ब्याजदरलाई उच्च विन्दुमा राख्ने निर्णयले सेयर बजारमा लगातार नयाँ रेकर्ड, ‘एस एन्ड पी ५००’ ५४२१ विन्दुमा

काठमाडौं,३२ जेठ । अमेरिकाको केन्द्रीय बैंकिङ प्रणाली ‘फेडरल रिजर्भ’ ले बुधबार ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । फेडरल रिजर्भले ब्याजदरलाई विगत २३ वर्षयताकै उच्च विन्दुमा स्थिर राख्ने निर्णय गरेको हो ।

अमेरिकाले पछिल्लो पटक सन् २०२३ को जुलाईमा ब्याजदर बढाएर विगत २३ वषयताकै उच्च ५.२५% देखि ५.५% मा पुर्याएको थियो । २०२३ को जुलाईपछि भने ब्याजदर स्थिर रहेको छ ।

फेडरल रिजर्भको बैठकले मुद्रास्फीति उच्च विन्दुबाट निरन्तर कम हुँदै गएपनि अहिले नै ब्याजदर घटाउन विश्वस्त हुने अवस्था आइन सकेको बताएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई २५ भित्र राख्ने लक्ष्यमा प्रगति हुँदै गएको पनि बताएको छ । मे महिनामा अमेरिकाको उपभोक्ता मूल्य सूचकांक स्थिर रहेको छ भने वार्षिक विन्दुगत आधारमा ३.३% मा सीमित रहेको तथ्यांकले देखाएको छ ।

ब्याजदर नघटेपनि मुद्रास्फीति दर वृद्धि नभएको तथ्यांक सार्वजनिक भएपछि अमेरिकी सेयर बजार बुधबार उच्च रेकर्ड विन्दुमा बन्द भएको छ । ‘एस एन्ड पी ५००’ सूचक ०.८५% ले बढेर इतिहासमै पहिलो पटक ५४२१ विन्दुमा बन्द भएको छ । नास्ड्याक कम्पोजिट पनि १.५३% ले बढेर हालसम्मकै उच्च १७,६०८ विन्दुमा बन्द भएको छ ।

  • एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्