मनसुन भित्रन काठमाडौं उपत्यकामा अझै केही दिन लाग्ने

काठमाडौं, ३० जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा सोमबार मनसुन भित्रिएको घोषणा गरेको थियो। मनसुन पूर्वी नेपालबाट भित्रिएर कम्तिमा पाँच दिनभित्र देशभर फैलन्छ।

अहिले कोशी प्रदेशमा मनसुनको प्रभाव छ।

बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ।

पश्चिम तराईमा भने तातो हावा चल्ने पूर्वानुमान महाशाखाले गरिसकेको छ।

यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। काठमाडौंको अधिकतम तापक्रम आज ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।

अहिले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम सफा रहने पूर्वानुमान गरेको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्