बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि सञ्चालनमा आउने

तनहुँ, ३० जेठ । पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार आगामी जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

बैशाख १ गतेबाट आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहाबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउन लागेको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको थियो ।

करिब एक वर्ष अघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको जडान गरी लोड परीक्षण भइसकेको थियो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको शर्माले जानकारी दिएका छन् ।

लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तरराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र प्राप्त भएको उनको भनाइ छ । शर्माले भने, कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पुरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेका हौं ।

केबलकारमा बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले बताएको छ ।
केबलकार चोकदेखि मन्दिरसम्म १ हजार ७०० मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ ।

यसअघि नै केबलकारको बटम स्टेसनमा अत्याधुनिक सुविधा सहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तरराष्ट्रिय स्तरको पाँच तारे सरहको सुविधा प्रदान गर्ने उद्देश्यले बैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा छ ।

त्यस्तै बटम स्टेसनमा आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिप लाइन, स्काइ साइक्लिङ लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ ।
केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रतिघण्टा ५०० जना यात्री बोक्न सक्ने क्षमता रहेको सो केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राती ११ बजेसम्म चल्नेछ ।

बन्दीपुरहिलको कुल लागत ६२९ करोड रुपैयाँमध्ये हालसम्म ४३३ करोडको काम सम्पन्न भएको पनि उनले बताए । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य छ ।

 

प्रतिक्रिया दिनुहोस्