देश ठूलो कि जीबी राई ? भन्दै गृहमन्त्री रविविरुद्ध गर्जिए ज्ञानेन्द्र शाही

काठमाडौं, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जीबी राईलाई जतिसक्दो चाँडो पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् । उनले देश ठूलो कि जीबी राई ?’ भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न समेत गरे।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले ‘गिरीबन्धु टी–इस्टेटको फाइल कहिले खोल्ने ?’ भन्दै गृहमन्त्री लामिछानेलाई अर्को प्रश्न गरे । उनले ‘मेलम्ची, वाइडबडी, फोरजीलगायत ठूला अनियमितताको फाइल कहिले खोल्ने ?’ भन्दै थप प्रश्न गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत पुराना दलहरूले देश विकास गर्न नसकेको उनले बताए । पुरानाले सुशासन दिन र काम गर्न नसकेकाले नयाँ दलहरूलाई जनताले जिताएर पठाएको उनको भनाइ थियो ।

उनले भने, ‘नौ मिनेट, चार मिनेट, दुई मिनेट आकाशमा भए पनि, पातालमा भए पनि जीबी राई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । कहिले पक्रिनुहुन्छ गृहमन्त्रीले हामी हेरेर बसेका छौं।’

उनले गिरीबन्धु टी–इस्टेट बारेको सत्यतथ्य छानबिन गरेर सदनलाई जानकारी गराउन माग गरे । साथै, कतिपटक गृहमन्त्री फेरिँदा निर्मला पन्तको हत्यारा पक्राउ गर्ने ?’ भन्दै शाहीले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्