त्रिभुवन विश्वविद्यालयको जग्गा तथा चल अचल सम्पत्ति खोज्न गठित समितिले काम थाल्यो

काठमाडौं, २८ जेष्ठ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा चल अचल सम्पत्ति खोज्न गठित समितिले काम थालेको छ । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले काम थालेको हो ।

समितिका अध्यक्ष तथा पदाधिकारीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आइतबार मन्त्रालयमा स्वागत गरेकी थिइन् । स्वागत गरेसँगै समितिले काम अघि बढाएको हो ।

यही जेठ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले त्रितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । प्रारम्भिक चरणमा काठमाडौँ उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजबिन तथा लगत संकलन गर्ने गरी समिति गठन गरिएको थियो । उक्त समितिले आइतबारदेखि काम थालेको हो । शिक्षा मन्त्रालयमै कार्यकक्ष रहने गरी समितिले काम थालेको छ ।

विभागीय मन्त्री शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सुमना श्रेष्ठले २०८१।०१।२६ गते समिति गठनबारे निर्णय गरेकी थिइन् । नेपाल सरकार कार्य सम्पादन नियमावली, २०६४ को अनुसूची १ को विषय सङ्ख्या ४१ अनुसार निर्णय गर्दै उक्त समिति गठनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेकी थिइन् । सोही आधारमा मन्त्रिपरिषद् बैठकले त्रितालको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समिति सदस्यहरूमा पूर्वसह–सचिवद्वय महेन्द्रकुमार थापा र जानकी बल्लभ अधिकारी रहेका छन् । त्यस्तै प्रा।डा। प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशीला अधिकारी सदस्य सचिव छन् ।

समितिलाई तीन महिनाको समय दिइएको छ । समितिले त्रिविको जग्गा तथा भवनको लगत, उपयोग, संरक्षण र व्यवस्थापन सम्बन्धमा विद्यमान अवस्था पहिचान गर्ने, त्यसका लागि नीतिगत सुधारका उपायहरू प्रस्तुत गर्ने, जग्गा संरक्षण, प्रयोग, व्यवस्थापन, उपयोग र पूर्वाधार निर्माणका सम्बन्धमा गर्नुपर्ने तत्कालीन तथा दीर्घकालीन कार्यहरूको बारेमा सुझाव दिने, विगतमा त्रिविबाट जग्गा संरक्षण र प्रयोग सम्बन्धमा अदालतबाट भए गरेका फैसला÷आदेशको अध्ययन कार्यदल वा समिति वा कसैबाट कुनै अध्ययन भएको भए सोको कार्यान्वयनको अवस्था अध्ययन गर्ने लगायतका जिम्मेवारी दिइएको छ ।

त्रिताल यसअघि बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलनसम्बन्धी छानबिन समिति–२०७५ का संयोजक समेत थिए ।

प्रतिक्रिया दिनुहोस्