पाटी फुटेर धुलोपिठो, विना प्रतिस्पर्धा आफै अध्यक्ष, १६ वर्षमा महाधिवेशन गर्न उपेन्द्र तयार

काठमाडौं, २८ जेष्ठ । जनकपुरधाममा आजदेखि जसपा नेपालको महाधिवेशन, चार देशका पाहुनालाई पनि निम्तो

जनता समाजवादी पार्टी नेपालको महाधिवेशन सोमबारबाट जनकपुरमा सुरू हुँदैछ।

यो महाधिवेशनलाई जसपा नेपालले एकताको महाधिवेशन भनेको छ।

२०७७ वैशाखमा संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी नेपाल बनेको थियो। त्यसैलाई आधार मानेर जसपाले एकताको महाधिवेशन भनेको हो।

जनकपुरको तिरहुतिया गाछीमा सोमबार दिउँसो जसपा नेपालको महाधिवेशन उद्घाटन सत्र हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

उनकाअनसार महाधिवेशनमा सहभागी हुन देशभरिबाट २० हजार नेता–कार्यकर्ता र शुभेच्छुकहरू जनकपुर पुगेका छन्।

महाधिवेशनमा करिब १३ सय प्रतिनिधि रहनेछन्। उद्घाटन सत्रमा देशमा क्रियाशील सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।

त्यस्तै स्वीडेन, अजरबैजान, भारत, स्पेन लगायत देशका राजनीति दल र तिनीहरूका प्रतिनिधिहरूलाई निम्तो पठाइएको बस्नेतले जानकारी दिए।

महाधिवेशनले २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ। जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५ जना निर्वाचित हुनेछन्।

त्यस्तै महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चुनिनेछन्।

यसअघि विधान अधिवेशनले १७ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरे पनि विधानमा पुनस् संशोधन गरेर पदाधिकारी संख्या बढाउन लागिएको बस्नेतले बताए।

२०६३ सालमा मधेशी जनअधिकार फोरमले राजनीतिक दलको रूप लिएसँगै २०६५ सालमा वीरगञ्जमा पहिलो महाधिवेशन भएको थियो।

त्यसयता १६ वर्षपछि एकता महाधिवेशन हुन लागेको हो। अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिने सम्भावना रहेको एक प्रतिनिधिले बताए। बाँकी पदमा प्रतिस्पर्धाको सम्भावना रहेको ती नेताको भनाइ छ।

महाधिवेशनको मुखैमा जसपा नेपाल विभाजन भएको थियो। संघीय परिषद अध्यक्ष अशोक राईले सात प्रतिनिधि सभा सांसद लिएर नयाँ पार्टी गठन गरी सरकारमा सामेल भएका थिए।

जसपा नेपालबाट विभाजन भई बनेको जनता समाजवादीलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च अदालत पुगेका थिए। अदालतले यो मुद्दामा संवैधानिक इजलासमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्