गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिंदै

काठमाडौं, २८ जेष्ठ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिंदै छन् । मुख्यमन्त्री पाण्डेले २८ गते ३ बजे विश्वासको मत लिने जानकारी संसदलाई गराएका थिए ।कांग्रेस सांसदलाई आइतबारदेखि नै रिसोर्टमा राखेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्य दल र सांसदसँग छलफल गरिरहेका छन् । विश्वासको मत लिनुअघि कांग्रेसका सांसदलाई पोखराको एक सुविधा सम्पन्न रिसोर्टमा राखिएको छ भने मुख्यमन्त्री पाण्डेले राप्रपा र अन्य सांसदसँग पनि त्यहींबाट संवाद गरिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद र अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका सांसद र अध्यक्ष डा.बाबुराम भट्टराई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङें) सँग काठमाडौंमा विश्वासको मतबारे सहमति गरेर मुख्यमन्त्री पाण्डे पोखरा फर्केको नेताहरुको दाबी छ ।

जेठ २५ गते काठमाडौंबाट फर्केलगत्तै मुख्यमन्त्री पाण्डेले २८ गते ३ बजे विश्वासको मत लिने जानकारी संसदलाई गराएका थिए ।

संविधानको धारा १६८ (२) बमोजिम बनेको एमाले–माओवादीको बहुमतको सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै सर्वोच्चको आदेशअनुसार जेठ १६ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानअनुसार पाण्डेले १३ गतेसम्म विश्वासको मत लिनुपर्ने थियो । तर, नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि नै विश्वासको मत लिँदा सहज पनि हुने र बजेट नीति तथा कार्यक्रमलाई प्रभाप नपर्ने भएकाले अगाडि बढेका हुन् ।

२७ सांसद रहेका नेपाली कांग्रेका मुख्यमन्त्री पाण्डे विश्वासको मत पाउनेमा ढुक्क देखिएका छन् । गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र माग गरेका मनाङे छन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पनि आफू अलग्गै भएको बताउँदै आइरहेका छन् ।

केन्द्रमा रहेको सत्ता गठबन्धनबाहेकै मुख्यमन्त्री पाण्डेले आफूतिर ४ सांसद ल्याएर विश्वासको मत पाउने परिस्थिति निर्माण गरेरै जोखिम मोलेको नेताहरुको भनाइ छ । सोमबार विश्वासको मत लिने र मंगलबार संसदमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम पेश गर्न संसद र सबै सांसदलाई जानकारी गराइसकिइएको छ ।
‘मुख्यमन्त्रीलाई रोक्न विपक्षीले के गर्दा भन्ने अनेक आशंका भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्