मोदीको तेस्रो पटक प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौं,२७ जेठ । प्रधानमन्त्री प्रचण्ड भारतका समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनको शपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली जान लागेका हुन् ।

नरेन्द्र मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री पदका लागि आइतबार शपथ लिँदैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार दिउँसो एक बजे भारत प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा जाने निर्णय गरेको थियो ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षीबीच आइतबार नै भेटवार्ताको कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका साथ उनकी पुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी रहनेछन्। प्रधानमन्त्री सोमबार फर्कने कार्यक्रम छ ।

भारतमा फेरि मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमारको पार्टी जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडूको तेलुगु देशम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए । उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा आवद्व थिए ।

भारतमा कुनै पनि पार्टीले स्पष्ट बहुमत अर्थात २७२ सिट नल्याएकोले संसदको सबै भन्दा ठूलो दल भाजपाले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो ।

एनडिए गठबन्धनका ठूला सहयोगी दल लोकसभामा जनता दल युनाइटेडले १२ र टिडिपीले १६ सिट जितेका छन् ।

मोदीको शपथ ग्रहणमा समारोहमा प्रधानमन्त्री दाहालसँगै श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ लगायतलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्