प्रदेशलाई बलियो बनाउन सेवा प्रवाहमा सुधार गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं,२५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राम्रो सेवा सुविधा दिन सके मात्र संघीयता बलियो हुने । त्यसका लागि सबैले सकारात्मक हुन पनि उनले आह्वान गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था फैलाउने कोशिस भइरहेकाले सेवा प्रवाहमा सुधार ल्याउँदै तीनै तहका सरकारलाई बलियो बनाउनुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका छौँ । यहाँ संघीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथिनै अनास्था फैलाउने कोशिसमा छन्। त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गरि जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।

प्रधानमन्त्री प्रचण्डले संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्‍याउन आफूले पहल गरिरहेको जानकारी पनि गराए । यी सम्पन्न गरी कार्यान्वयन भएपछि संघीयतामा प्रश्न उठाउनेहरु कमजोर हुने उनको भनाइ छ ।

संसदबाट संघीय निजामती सेवा ऐन छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन मैले पहल गरिरहेको छु । यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ । संघीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन् प्रधानमन्त्री दाहालले भने ।

यस छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिव लगायत उपस्थित थिए ।

 

प्रतिक्रिया दिनुहोस्