पोखराका सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा
काठमाडौं २३ जेष्ठ । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् ।
आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए ।
कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम लगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए ।
आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रहरीले लात्ती प्रहार गरेर ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठलाई घाइते बनाएको बताए । सहकारीका पीडितले न्याय माग्दा धरपकड भएको भन्दै उनले राज्य कसको पक्षमा छ भन्ने पुष्टि भएको बताए । ‘म काठमाडौं छु, प्रधानमन्त्रीलाई न्यायका लागि सभागृह पुगेर ध्यानाकर्षण गराउने कार्यक्रम थियो,’ श्रेष्ठले भने, ‘तर, न्याय माग्न पुगेका पीडितलाई प्रहरीले दमन गरेको छ ।’
‘हामीबाट राज्यलाई डर हो कि राज्य अभियुक्तको पक्षमा प्रस्तुत भएको हो ?’ उनले भने, ‘अब हामी पक्राउ परेका पीडितका पक्षमा जहाँ लगिएको छ, त्यहीँ पुग्नेछौं ।’
प्रतिक्रिया दिनुहोस्