नक्कली प्रमाण पत्र देखाएर स्थायी जागिर, अवकाश पछि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २२ जेठ । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी शिक्षकको स्थायी जागिर खाएर अवकाश पाएका भीमकुमार डिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोय अनुसन्धान आयोगले श्री प्राथमिक विद्यालय, गोलटाकुरी दाङमा कार्यरत रही अवकाश पाएका शिक्षक डिसीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

डिसीले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरी नियुक्ति लिएको अख्तियारको दाबी छ ।

डिसीले नेपाल सरकारको स्थायी शिक्षकको रूपमा २०५० असारमा सेवा प्रवेश गरी प्रावि द्वितीय श्रेणीबाट अनिवार्य अवकाश लिइसकेका छन् ।

नक्कली प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले डिसी सजायको भागिदार भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्