अडानी ग्रुपका मालिक गौतम अडानी पुनः बने एसियाकै सबैभन्दा धनी

काठमाडौं,२० जेठ । भारतीय अर्बपति उघोगपति गौतम अडानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । यस भन्दा अगाडी भारतीय अर्बपति रिलायन्सका मालिक मुकेश अम्बानीलाई उछिन्दै अडानी ग्रुपका मालिक एसियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

जुन १, २०२४ शनिबारसम्मको तथ्यांक अनुसार ब्लुमबर्गले जारी गरेको अर्बपतिहरुको सूचीमा अडानी १ खर्ब ११ अर्ब अमेरिकी डलरसहित अम्बानी भन्दा एक स्थान माथी विश्वको ११औं स्थानमा उक्लेका छन् ।

त्यसैगरि, मुकेश अम्बानी भने १ खर्ब ९ अर्ब डलरसहित अर्बपतिहरुको विश्वव्यापी सूचीमा १२औं स्थानमा रहेका छन् । अडानी समूहका सेयरहरुमा उल्लेखनीय वृद्धि भएपछि गौतम हडानीले अम्बानीलाई पछि पारेका हुन् । अमेरिकी बहुराष्ट्रिय इन्भेष्टमेन्ट कम्पनी ‘जेफरीज’ ले आफ्नो प्रतिवेदनमा अडानी समूहले आक्रामक विस्तार गर्ने र आगामी दशकमा ९० अर्ब डलरको पुँजीगत खर्च गर्ने योजना उल्लेख गरेपछि शुक्रबार अडानी समूहका सबै कम्पनीहरुको सेयर भाउ बढेको थियो ।

जेफरिजको प्रतिवेदनप्रति बजारले सकारात्मक प्रतिक्रिया देखाएपछि शुक्रबार इन्ट्राडेमा अडानी समूहको बजार पुँजीकरण १२ खर्ब भारतीय रुपैयाँ भन्दा धेरैले वृद्धि भएको थियो । उक्त वृद्धिपछि अडानी समूहको कुल बजार पुँजीकरण इन्ट्राडेमा १७९ खर्ब भारु बढी पुगेको थियो । सन् २०२३ को जनवरीमा अमेरिकी सर्ट सेलिर ‘हिन्डेनबर्ग रिसर्च’ ले अडानी समूहप्रति नकारात्मक रिपोर्ट सार्वजनिक गरेपछि सेयर भाउमा उच्च गिरावट आउँदा अडानीको सम्पतिमा तीब्र गिरावट आएको थियो ।

अडानी समूहका कम्पनीका सेयरहरुले हिन्डेनबर्गको रिपोर्टपछि गुमेको सेयर भ्याल्यू रिकभर गरिसकेका छन् । जसका कारण गौतम अडानीको सम्पतिमा पनि वृद्धि भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार शुक्रबार एकैदिन उनको सम्पति ५।४५ अर्ब डलरले बृद्घि भएको थियो ।

  • एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्