प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको स्वामित्व लिने वा रेकर्डबाट हटाउने विकल्प प्रधानमन्त्री दाहालको कोटमा नत्र हिसाबकिताब लिइन्छः गगन थापा
काठमाडौं, २० बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत जेठ ६ गते प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको स्वामित्व लिन वा रेकर्डबाट हटाउँछु भन्ने विकल्प रोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।
आइतबारको प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले गृहमन्त्री कुनै टिभीको प्रस्तोताजस्तो नभएको भन्दै बोलेका कुराको जिम्मा लिने र जबाफ दिनुपर्ने बताए।
‘सूचना बेच्ने मानिस सदनमा छ भन्ने सूचना पाएको गृहमन्त्रीले त गिरफ्तार गर्नुपर्छ, देशद्रोहको मुद्दा लगाउनुपर्छ, थुन्नुपर्छ,’ थापाले भने, ‘गृहमन्त्री बरालिनु भयो भनेर अब हामी बरालिन हुन्न। हामी त हिसाबकिताब लिनुपर्छ। अब यो हिसाबकिताब गृहमन्त्रीसँग लिएर धेरै ठूलो अर्थ पनि हुने भएन। हिसाबकिताब त अब प्रधानमन्त्रीजीसँगै लिने हो सभामुख महोदय।’
कांग्रेसमाथि गृहमन्त्रीले लगाएका आरोपमाथि अनुसन्धान गर्न पार्टीले भनिसकेको पनि थापाले बताए।
थापाका अनुसार कांग्रेस सांसद धनराज गुरूङले सदनको मर्यादा कायम गर्न सभामुख देवराज घिमिरेलाई पत्र नै दिइसकेका छन्। यी कुरा व्यक्तिगत नभएको पनि थापाको भनाइ छ।
‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ भन्ने राम्रो अनुभव गरेर आएको छु। हजारौं मानिसले नारा लगाउँदै गर्दा एक्लै राजद्रोहको मुद्दा खेपेर आएको हुँ,’ थापाले भने, ‘अख्तियारको शक्तिशाली प्रमुखदेखि प्रधानन्यायाधीशसम्म लडेर आएको हुँ। शक्तिशाली नेकपा सरकारसँग लडेर आएको हुँ। त्यो बेला एक्लै कुनैकुनै बेला घाउ पनि खाएर आएको हुँ।’
उनले सदनको गरिमाको विषयमा सभामुखको ध्यानाकर्षण पनि गराएका थिए। उनले सदन चटक देखाउने ठाउँ नभएको पनि बताए।
गृहमन्त्रीले सदनमा दिएका अभिव्यक्तिबारे प्रसंग निकाल्दै थापाले भने, ‘जुन कुरा यहाँ भनियो, सुनियो त्यो कि प्रधानमन्त्रीले स्वामित्व लिनुस्, तपाईंसँगै हिसाबकिताब गरौंला। कि होइन भने प्रधानमन्त्री आउनुस् र भन्नुस् म यसलाई रेकर्डबाट हटाउँछु भनेर। होइन भने प्रधानमन्त्रीसँग हिसाब त लिइन्छ, यही सदनमा लिइन्छ। सभामुखको अगाडि नै लिइन्छ।’
उनले सहकारी बचत ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको प्रसंग पनि उठाए। गृहमन्त्रीको नाम नै राखेर संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गरे पनि गृहमन्त्री नमानेको उनको भनाइ छ।
‘हामीले उठाएको विषय गृहमन्त्रीसँग जोडिएको छ। हामीले त सिधा नाम नै राखेर छलफल गरौँ भन्यौं। सुन्न त हामीले अन्तराष्ट्रिय समिति नै बनाउन तयार छौ भन्ने सुनिएकै हो। तर बन्द कोठामा मान्नु भएन। अनि हामीले सोच्यौं–भात जसरी खाए पनि उही हो। त्यसैले सुर्य दर्शन लगायतका सहकारीहरु जसबाट गोर्खा मिडियामा रकम गएको छ, त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानूनी हो,’ थापाले भने, ‘त्यो गैरकानूनी रकम प्रवाह भएको बारेमा अध्ययन हुन्छ। यो समितिले सहकारीको खाता पनि पल्टाउँछ। गोर्खा मिडियाको खाता पनि पल्टाउँछ। त्यो गोर्खा मिडिया संचालन गर्ने त्यसका मालिक जिवी होस कि, छवि होस कि, रवि होस कि कवि होस् उसलाई पनि बोलाउँछ। छानबिन गर्छ।’
प्रतिक्रिया दिनुहोस्