पानी दे सरकार ! भन्दै मधेशवासीको काठमाडौंमा प्रदर्शन

काठमाडौं, १९ जेष्ठ । मधेशका बासिन्दाले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन् । चुरे संरक्षण नहुँदा मधेशमा पानीको स्रोत सुक्दै गएको र पानी अभावको विषय उठाएर आइतबार चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरबाट प्रदर्शन गरेको हो । माइतिघरदेखि प्रदशैन गर्दै बानेश्वतर्फ गइरहेका सर्वसाधारणलाई प्रहरीले नयाँ बानेश्वर चोक नजिकै रोकेको हो ।

प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् ।

उनीहरुले आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकारलगायत नारा लगाइरहेका छन् ।
२५ दिन पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा १० दिनदेखि माइतीघरमा धर्ना बसिरहेका थिए ।

चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताए । आफूहरु चुरे संरक्षणको माग उठाएर आन्दोलन गर्दा दलहरुले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखे । प्रचण्ड गर्मिमा मधेशमा पानीको अभाव हुँदै भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्