एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी
काठमाडौं, १८ जेष्ठ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए । उनले भने ‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा निकाल्न सकिन्छ भन्ने लागेको छ ।’
बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो, जसमा १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ मात्रै न्यूनतम ३५ अंक ल्याउनुपर्ने छ ।
२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्