युनाइटेड मोदीको कोरम नपुगेर यसअघि स्थगित भएको साधारण सभा पुनः बोलायो

काठमाडौं,१८ जेठ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले पुनः साधारण सभा बोलाएको छ । हाइड्रोपावरको चैत २९ मा स्थगित भएको साधारण सभा अब जेठ २७ गते हुने भएको छ ।

यसअघि बोलाइएको सभामा गणपुरक संख्या नपुगेपछि स्थगित गर्नुपरेको थियो । हाइड्रोपावरले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् राख्दै पुन: साधारण सभा बोलाएको हो ।

सभामा सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवर्धीत ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव रहेको छ ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले यस अघिनै चैत ७ गते बुक क्लोज गरिसकेको छ । चैत ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्