डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर, ट्रम्पले चुनाव लड्न पाउँछन् ?
काठमाडौँ, १८ जेष्ठ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर
२०२४ मा रिपब्लिकन उम्मेदवार ट्रम्पविरुद्ध आगामी जुलाई ११ मा सजाय सुनाइनेछ । ट्रम्पलाई जेल सजाय पनि हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अदालतले करिब ६ हप्ताको सुनुवाइपछि ट्रम्पलाई दोषी ठहर गरेको हो । यसक्रममा स्टोर्मी ड्यानियल्ससहित २२ जना प्रत्यक्षदर्शीसँग अदालतले बयान लिएको थियो । पोर्नस्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा दिएको आरोप लगाएकी थिइन् । साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेको थियो । ड्यानियल्सले २०१६ को चुनावअघि ट्रम्पका वकिल माइकल कोहेनले १ लाख ३० हजार अमेरिकी डलर दिएको दाबी गर्दै आएकी छिन् । कोहेन अहिले विभिन्न मुद्दामा जेलमै रहेका छन् ।
ड्यानियल्सले सन् २००७ मा भएको गल्फ प्रतियोगिताका क्रममा ट्रम्पले यौन सम्बन्धको प्रस्ताव राखेको बताएकी छिन् । ट्रम्पले आफूलाई सँगै खाना खानका लागि निम्तो दिए पनि आफूले सुरुमा अस्वीकार गरेको र आफ्ना पब्लिसिस्टले जान भनेपछि गएको उनको भनाइ छ । त्यतिबेला ट्रम्पपत्नी मेलानिया सुत्केरी भएकाले प्रतियोगितास्थलमा नआएको उनको दाबी छ । सहमतिमै यौन सम्बन्ध भए पनि ट्रम्पले झगडा गरेको र असुरक्षित सम्बन्ध राखेको ड्यानियल्सको दाबी छ । यस घटनाबारे उनले सन् २०११ मै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिएकी थिइन् । तर त्यो अन्तर्वार्ता २०१८ मा मात्र सार्वजनिक भएको हो ।
ट्रम्पले चुनाव लड्न पाउँछन् ?
दोषी ठहर भए पनि यसै वर्षको नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्प उम्मेदवार हुन पाउनेछन् । अमेरिकी संविधानले आपराधिक मामिलामा दोषी ठहर भए पनि चुनाव लड्न भने प्रतिबन्ध लगाएको छैन । ट्रम्पमाथि महाअभियोग नै लगाइए पनि चुनावमा उम्मेदवार हुन पाउनेछन् । तर पक्राउ नै परे भने राष्ट्रपति उम्मेदवार दाबीमै र चुनाव जित्न भने मुश्किल हुने बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनावी प्रचार टिमले अदालतको यो फैसलालाई ऐतिहासिक करार दिँदै ुकानुनभन्दा माथिु कोही नहुने बताएको छ । ट्रम्पले भने यसलाई ुकंलकु का रूपमा प्रचार गरेका छन् । रोयटर्स
प्रतिक्रिया दिनुहोस्