ठूलो आकारको बजेट आउने, मन्त्रिपरिषदबाट १ बजे पारित हुने
काठमाडौं, १५ जेष्ठ ।अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट तयार गरेको छ ।
मन्त्रालयले तयार गरेको आकारका आधारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने स्रोत समितिले सोमबार साँझ बजेटको नयाँ सिलिङ निर्धारण गरेको छ ।
नयाँ बजेटका आधारमा आयोगले तयार गरेको नयाँ मध्यमकालीन खर्च संरचना र विकास कार्यक्रमलाई प्रधानमन्त्री अध्यक्षताको आयोगको पूर्ण बैठकले मंगलबार बिहान पारित गरेको छ ।
मंगलबार दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बजेटका अतिरिक्त यससँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने छ ।
सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । त्यसको तुलनामा आगामी आव २०८१।८२ मा आउने बजेट २४ प्रतिशत ठूलो हुनेछ ।
तर, बजेटसँगै सरकारले चालु आवको खर्चको अन्तिम संशोधित अनुमान पेस गर्ने छ । त्यसमा खर्चको आकार अझै कम हुन सक्ने छ ।
गत वर्षको मध्यमकालीन खर्च संरचनाले साढे १९ खर्बसम्मको बजेट बनाउन सक्ने सुविधा सरकारलाई दिएको थियो ।
अर्थमन्त्रीले आजै दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्