द्वन्द्व र मुठभेडको बाटोमा कांग्रेस अगाडि बढिरहेको छः प्रमुख सचेतक बर्तौला
काठमाडौं, जेठ १४। सहकारीको बचत अपचलन, दुरूपयोग र ठगीको विषय निरूपण गर्न छलफल बाक्लिँदै जाँदा सत्तारूढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच झन् तनाब चुलिएको छ।
कांग्रेसले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी करार गर्न खोजेको भन्दै एमालेले प्रतिवाद गरेको छ।
कांग्रेसले त्यो विषय प्रष्ट नपारी ऊसँगका संवाद, छलफल र समझदारीको कुनै अर्थ नहुने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘कांग्रेस संवाद, सहमति गर्न चाहिरहेको छैन। बरू ऊ द्वन्द्व, तनाब, मुठभेडको अवस्था चाहन्छ भन्ने कुराको औपचारिक अभिव्यक्ति महामन्त्री विश्वप्रकाश शर्माले दिइसकेका छन्,’ बर्तौलाले भने।
संसदीय समिति बनाउने सहमतिपछि पनि सदनको अवरोधलाई कायमै राख्ने र पार्टी अध्यक्षमाथि निराधार, तथ्यहीन आरोप लगाउनको निहित उद्देश्य के हो भनेर कांग्रेसले प्रष्ट पार्नुपर्ने बर्तौलाको भनाइ छ।
सत्तापक्ष जिम्मेवार भएर संवाद र सहमतितर्फ अग्रसर भइरहँदा कांग्रेसले सभामुखविरूद्ध महाभियोगको विषय अघि सारेको बर्तौलाले बताए।
‘यी सबै घटनाक्रमबाट कांग्रेसले सहमति चाहिरहेको छैन भन्ने प्रष्ट हुन्छ। त्यसकारण उसले आफ्नो उद्देश्य प्रष्ट पारोस्। उसले द्वन्द्व र मुठभेडको अवस्था नै निम्त्याउन खोजेको हो भने राजनीतिक प्रतिवादका लागि एमाले तयार छ। यी विषय प्रष्ट नपारी ऊसँगको संवादको कुनै अर्थ छैन,’ बर्तौलाले भने।
सोमबारको बैठकपछि प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद जीवन परियारले एमाले सहमतिका लागि तयार नरहेको बताएका थिए।
प्रधानमन्त्रीले सहमतिका लागि सत्तापक्ष र प्रतिपक्षसँग औपचारिक, औपचारिक छलफल गरिरहेको, सहकारीको बचत अपचलनको विषय निरूपणका लागि संवेदनशील भइरहँदा समग्र सत्तापक्षको भूमिका त्यस्तो नदेखिको उनको भनाइ थियो।
‘प्रधानमन्त्रीको उद्देश्य आज साँझसम्म जसरी हुन्छ सदनको गतिरोध अन्त्य गर्नेछ। प्रधानमन्त्रीको जुन पहलकदमी छ, त्यो उपयुक्त छ। समग्र सत्तापक्षको चाहिँ सोचेजस्तो समस्या समाधान गर्नेतर्फ भन्दा पनि यो समस्यालाई अल्झाइरहने देखिन्छ, त्यसप्रति हामी सशंकित छौं।
प्रतिक्रिया दिनुहोस्