प्रधानमन्त्री सहकारीबन्धु गठबन्धनको दुब्लो छायाँ बन्नुभयो, कांग्रेस बाध्य भएर आन्दोलनको बाटोमा गयो

काठमाडौं, १३ जेष्ठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चार कुरा सच्चिए अहिले देखिएको राजनीतिक गतिरोधको अन्त्य हुने बताएको छ।

काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसले गरेको प्रदर्शन र खुला सभामा महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले खोजेका चार कुरा सम्बोधन हुँदा गतिरोध अन्त्य हुने बताए।

ती हुन्

महामन्त्री शर्माका अनुसार पहिलो सरकारको व्यवहार सच्चिनुपर्छ।

‘सरकार अनुदार व्यवहारबाट सच्चिनुपर्छ। अहिलेको सरकार अनुदार शैलीमा छ। संसदमा जुन ढंगले प्रस्तुत भएको छ, सरकारले यो शैलीलाई बदल्नुपर्छ र अनुदार शैलीलाई सरकारले सच्याउनुपर्छ,’ महामन्त्री शर्माले भने।

दोस्रो, प्रधानमन्त्री गठबन्धनको छायाँ बन्ने अवस्थाबाट मुक्त हुनुपर्छ भन्ने रहेको शर्मा बताउँछन्।

‘प्रधानमन्त्रीजीले प्रतिपक्षीलाई आरोप लगाउने, सहकारीबन्धु गठबन्धनमा छायाँ बन्नेजस्तो दुब्लो अवस्थाबाट मुक्त बन्नुपर्छ,’ शर्माले थपे।

तेस्रो भने सभामुख देवराज घिमिरेसँग सम्बन्धित छ।

‘सभामुखबाट पदीय गरिमा र मर्यादाको पालना भएको छैन, सभामुख रिमोट कन्ट्रोलबाट मुक्त हुनुपर्छ,’ उनले भने। प्रमुख प्रतिपक्षीलाई बोल्न समय माग गर्दा पनि सभामुखले नदिएको भन्दै कांग्रेस असन्तुष्ट छ। साथै सदनमा कुनै एक दल विशेषको आग्रहका आधारमा सभामुख चलेको आरोप पनि कांग्रेसका नेताहरूले लगाउने गरेका छन्।

कांग्रेस सांसदहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै वेल घेराउ र नाराबाजी गर्दा पनि सभामुख कार्यसूचीमा प्रवेश गर्ने गरेकोमा कांग्रेसले असन्तुष्टि जनाउँदै सभामुखकै भूमिकामाथि प्रश्न उठाउने गरेको छ। शर्माले आइतबार प्रदर्शनीमार्गमा बोल्ने क्रममा पनि सभामुखबाट सदनको गरिमा र मर्यादा कायम हुन नसकेको आरोप लगाएका छन्।

चौथो भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित विषय रहेको शर्मा बताउँछन्।

‘सहकारी ठगीमा मुछिएका गृहमन्त्रीमाथि गहिरो ढंगबाट संसदीय छानबिन हुनुपर्छ,’ शर्माले भने, ‘यति भयो भने मात्र अहिलेको समस्या समाधानतर्फ जान्छ।’

उनले सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे प्रश्न उठिरहेकोले संसदीय समिति बन्दा लामिछानेको नाम तोकेरै बन्नुपर्नेमा पनि पार्टी रहेको दोहोर्‍याए।

गृहमन्त्री लामिछानेमाथि निष्पक्ष, इमान्दार र गहिरो ढंगले छानबिन हुनुपर्ने शर्माको भनाइ छ।

साथै शर्माले अहिलेको गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भनेर आफूले भनेकोमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गुनासो गर्ने गरेको प्रसंग पनि सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्