जनताको आक्रोश र आवश्यकतालाई वेवास्ता गरिए देशमा ठुलो राजनीतिक सङ्कट आउने र भोलि पश्चात्तापको कुनै अर्थ नरहने हुन सक्छ: जनार्दन शर्मा

काठमाडौं, १३ जेष्ठ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले जनताको आक्रोश र आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यकता भएको बताएका छन् । सरकारले संसद्‌मा पेश गरेको आर्थिक वर्ष २०८१।०८२ को साझा नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले देशमा ठुलो राजनीतिक सङ्कट आउनेतर्फ चिन्ता व्यक्त गरेका हुन् ।

‘जनतामा देखिएको आक्रोश र आवश्यकतालाई सम्बोधन गर्न नसके भोलि पश्चात्ताप गर्नुपर्ने दिन आउन सक्छ । देशमा ठुलो राजनीतिक सङ्कट, समस्या र चुनौतीहरू खडा भइरहेका छन् । यी सार कुरालाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यक पर्छ’, शर्माले भने ।

यस्तै संसद्‌मा जारी गतिरोधका कारण राष्ट्र झन् सङ्कटमा पर्ने, जनतामा असन्तोष बढ्दै जाने भएकाले गतिरोध हटाउन सबैले पहल गर्न उनले अपिल गरेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम ०८१।८२ ले देशको वर्तमान अवस्थालाई बदल्दै सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन, सेवा प्रवाहलाई आम जनताले महसुस गर्ने गरी सुधार गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण भएको शर्माले बताए ।

यस्तै स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रहित प्रतिष्ठालाई रक्षा गर्न पार्टी विशेष भन्दा पनि देश र जनताका कुरा भएको, सबै राजनीतिक दलका साझा मुद्दा भएकाले यस मुद्दालाई आत्मसात् गरी सहमतिबाट अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्