हामी गतिरोध अन्त्यको लागि धेरै नै मेहनत गरिरहेका छौ, चाडै नै सहमतिमा पुगिन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं, १३ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको गतिरोध अन्त्यको प्रयास भइरहेकाले बजेट वक्तव्यसम्म पुग्दा समझदारी जुट्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिनिधि सभामा आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सदनको गतिरोध हट्ने विश्वास व्यक्त गरेका हुन्।

‘हामीले यो स्थितिको अन्त्य गर्नैपर्छ। सभामुखज्यू, मैले केही दिनदेखि लगातार राजनीतिक दलहरूसँग, प्रतिपक्षी दलका नेताहरूसँग छलफलको आयोजना गरिराखेको छु। यो गतिरोधको अन्त्य गर्नका निम्ति प्रयास भइराखेको छ। र, हामी सहमति र सहकार्यको धेरै नजिक पुगेको पनि बेलाबेलामा महसुस गरेका छौं। आज बिहान पनि प्रमुख प्रतिपक्षी दलका नेता, कांग्रेस सभापतिजीको घर बूढानीलकण्ठमै पुगेर सहमतिको प्रयास गरेको छ। मलाई आज र भोलि, बजेट वक्तव्य पढ्ने बेलासम्म, सहमति र समझदारी बन्ने छ भन्ने विश्वास गरेको छु। हामी सहमतिको नजिकै छौं,’ उनले भने।

प्रधानमन्त्रीले अघिल्लो साल सरकारको नीति कार्यक्रमबारे छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा नै आगामी नीति कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा पर्याप्त समय लिएर छलफल गर्ने र परिमार्जनको एउटा नयाँ प्रक्रिया सुरू गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण पनि गरे।

एक वर्षपछि फेरि अर्को नीति कार्यक्रमबारे छलफल गर्दै गर्दा अवरोधको स्थितिबीचमा सदनमा उठेका प्रश्नहरूको जवाफ दिनुपरेकाले नमीठो लागेको बताए।

प्रतिक्रिया दिनुहोस्