वेवी बुद्धका मूर्ति अनावरण

काठमाडौँ । विश्व बौद्ध धर्म संघले लुम्बिनी विकास कोषको सहकार्यमा सुभनियर प्रोजेक्ट अन्तर्गत बुद्ध भूमिको माटोबाट तयार गरिएका वेवी बुद्धका मूर्ति अनावरण गरेको छ।

बुद्ध जन्मस्थल लुम्विनीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले विश्व शान्तिका प्रतिक शाक्यमुनि बुद्धले प्रतिपादन गर्नुभएको दर्शन सबै मानव समुदायका लागि प्रेरणादायी रहेको बताउँदै पवित्र उद्देश्यले थालनी गरिएको उक्त कार्यक्रमको सराहना गर्नुभयो।

विभिन्न सम्प्रदायका बौद्ध अनुयायीको आस्थामा आँच पुर्याउन नहुनेमा जोड दिँदै उहाँले सबै धर्मालम्बीको भावनात्मक विश्वासलाई सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

समग्र प्राणीको कल्याणका लागि तथा मानवका लागि दुःखबाट मुक्ति गराउने उपाय रहेको बौद्ध दर्शन अनुकरणीय रहेको मन्त्री तामाङको भनाई थियो।

संघका अध्यक्ष योगिनी भिम सुवा गुरुङ्गले २५६८ औँ बुद्ध जयन्तीका अवसरमा कोषसँग सहकार्य गरी लुम्बिनीमा सुरू गरिएको कार्यले बुद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले शक्ति राष्ट्रबीच हुने मन मुटावले उत्पन्न हुने तनाव तथा युद्धले मानव जीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न विश्वमा बौद्ध शिक्षाको प्रवर्द्धन गर्नुपर्ने बताउँदै विश्व शान्तिको कामना समेत गर्नुभयो।
अध्यक्ष गुरुङ्गले वेवी बुद्धका मूर्ति अनावरणपछि लुम्बिनीमा विश्वमा बौद्ध अनुयायीको आकर्षण बढ्दै जाने र मुलुकको पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

संघका महासचिव रामशरण पौडेलले सो कार्यक्रम अन्तर्गतका योजनाको जानकारी दिँदै व्यक्ति व्यक्तिकाबीच हुने मनमुटाव, लोभ, मोहका कारण फैलिएका हिंसा तथा अशान्तिलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा छिमेकी राष्ट्र चिनबाट आउनु भएका पाहुनाहरुको सहभागिता थियो।

करिब तीन दशक अगाडि प्रथम विश्व बौद्ध शिखर सम्मेलन सम्पन्न गरिएको नेपालमा बुद्ध जयन्तिलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ।

विभिन्न परम्पराका बौद्ध अनुयायीले नेपालसहित भारत, चिन, श्रीलङ्का, भुटान, थाइल्यान्ड, म्यान्मार, मङ्गोलिया, कम्बोडिया, लाओसमा बौद्ध धर्म तथा दर्शनलाई महत्त्व दिइएको छ।

नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको अभिलेख पाइन्छ।

यसैबीच संघले एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा सम्पन्न गरेको छ। पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्वन्द्व अन्तको सन्देश प्रवाह गर्न बुद्धको बाल्यावस्था झल्काउने मूर्ति प्रदर्शनका साथै विश्व शान्ति पूजा गरेको हो।
शान्ति स्तम्भ स्थापना गर्ने कार्ययोजना रहेको सङ्घले विगत वर्षमा करिब २० राष्ट्रमा यस्तो प्रदर्शन तथा पूजा सम्पन्न गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्