कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,११ जेठ । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

सिरोहियाको तर्फबाट कानुन व्यवसायीहरूले गैरकानुनी धरपकड गरेको र विवाद थुनामा राखिराख्नु नपर्ने खालको भएको भन्दै रिहा गर्न माग गरेका थिए । त्यसैगरि जिल्ला सरकारी वकिलको कार्यालयले भने ५ दिन मागेको थियो ।

न्यायाधीसले पक्ष विपक्षको बहस सुनेपछि ३ दिन म्याद थपेका लागि आदेश दिएका छन् ।

सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण भएको भन्दै विरोध भएको छ । गृहमन्त्री रवि लामिछानेले प्रतिशोध राखेर सिरोहियालाई पक्राउ गराएको आरोप लागेको छ । यस कार्यको लागि सरकार र गृहमन्त्री रवी लामिछानेको सञ्चारकर्मी र नागरिक अगुवा सर्वसाधारणलगायतले ब्यापक बिरोध भैराखेको छ ।

सिरोहियाको नागरिकतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता इन्द्रजित महतोले प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा प्रहरीले एकैपटक पक्राउ पुर्जी जारी गराएर मंगलबार सिरोहियालाई पक्राउ गरी जनकपुर ल्याइएको थियो ।

शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्नुअघि सरकारी वकिलको कार्यालयमा झण्डै तीन घण्टा बयान लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्