कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा भेटिएको पुष्टि

काठमाडौं,११ जेठ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक उच्च अधिकारीले बताए । ‘संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत ‘केपी.२’ बढी फैलिरहेको देखिएको छ,’ स्रोतले भन्यो, ‘ उक्त तथ्याकले समुदाय स्तरमै फैलिरहेको पुष्टि गर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन अन्य भेरियन्टभन्दा केपी.२ छिटो फैलिएको पाइएको बताउँछन् ।

‘केही महिना अगाडी युरोपेली देशमा संक्रमण बढ्नुमा ‘केपी.२’ रहेको पाइएको छ,’ डा. पुनले भने, ‘ नेपालमा पनि पुष्टि भएसँगै संक्रमण बढाउनसक्ने आंकलन गर्न सकिन्छ ।’

उनका अनुसार ‘केपी.१’ र ‘केपी.२’ ले कारण मानिस कति जोखिममा पर्छन् भन्ने पत्ता लागिसकेको छैन । सामान्यतः कोरोनाभाइरसले आफ्नो स्वरुप विकास गर्दै जान्छ, यो प्राकृतिक पनि हो । यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं ।

अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा कठिन अवस्था आउने जस्तो नदेखिएको भन्दै उनले भोली दिनमा कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसिकने उनले बताए ।

विज्ञका अनुसार यो भेरियन्टको कोरोनाको लक्षण खासै अन्य भेरियन्टको तुलनामा फरक छैन । नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता लक्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्