सभामुख र प्रतिपक्षीबिच सवालजवाफ हुँदा प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक आइतबार बिहान ११ बजे

काठमाडौं, ११ जेष्ठ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथै स्थगित भएको छ । सभामा शून्य समय र विशेष समय कार्यसूचीबाट हटाएपछि सभामुख र प्रतिपक्षीबिच सवालजवाफ समेत भएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरुलाई बोल्न नदिए पछि प्रतिपक्ष दल र सभामुखबीच सवालजवाफ चलेको हो । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि शुक्रबार ११ बजेका लागि डाकिएको बैठक शुरु भएलगत्तै सभामुख घिमिरेले बैठकको शुन्य समय र विशेष समय नरहेको जानकारी गराएका थिए ।

तर, प्रतिपक्षी दलहरुले बोल्ने समय पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । प्रतिपक्षीले जनताको कुरा राख्नुपर्ने भन्दै समय माग गरेपछि सभामुख र प्रतिपक्षीबिच केहीँ बेर भनाभनको स्थिति बनेको थियो ।

सहकारीको मुद्दामा सरकार र दलहरुबिच छलफल र सहमति भइरहेको भन्दै सभामुख घिमिरेले सभाको बैठक पनि अगाडि बढाउन आग्रह गरेका थिए । तर, प्रतिपक्षी दलका सांसदहरुले मान्दै नमानी विरोध जारी राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित भएको घोषणा गर्दै १३ गते आइतबार बिहान ११ बजे अर्को बैठक बस्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्