नेपाल पुनर्बीमा कम्पनीको दोस्रो त्रैमाससम्मको नाफा पौने ३४ करोड 

काठमाडौं,१० जेठ । नेपाल पुनर्बीमा कम्पनी लि. ले चालु आ.व. २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १५।४९ प्रतिशतको बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

पुस मसान्तसम्म कम्पनीले ३ अर्ब ४१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ८४ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.२९ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको शेयर पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ । त्यस्तै स्पेसल रिजर्भमा ४ अर्ब २४ करोड ४८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३० करोड ८१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४० लाख रुपैयाँ रहेको छ। गत असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २.२८ रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १४५.७५ रुपैयाँ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्