बेलायतका प्रधानमन्त्रीले घोषणा गरे चुनावको मिति

काठमाडौं,१० जेठ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा आम निर्वाचन घोषणा गरेका छन् । सन् २०२५ मा हुनुपर्ने निर्वाचन प्रधानमन्त्री सुनकले ७ महिना अगावै चुनावको मिति घोषणा गरिदिएका हुन् ।

सुनकले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए ।

राजा चाल्र्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ वर्तमान संसद भंग गरिने छ । त्यसपछि चुनावी प्रक्रिया शुरु हुने छ ।

उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । बेलायतमा जनवरी २०२५ मा आम चुनाव हुने सम्भावना थियो । चुनावको मिति घोषणाका लागि उनलाई डिसेम्बर महिनासम्म समय थियो ।

सन् २०२२ मा फिक्स्ड टर्म इलेक्सन एक्ट रद्द भएपछि बेलायतका प्रधानमन्त्रीले आफूलाई अनुकूल समयमा चुनावको मिति घोषणा गर्ने बाटो खुलेको छ ।

सुनकले चुनाव घोषणा गर्दै भने, ‘बितेका पाँच वर्ष देशका लागि दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा चुनौतीपूर्ण समय रह्यो । आगामी दिनमा म तपाईंहरुको हरेक भोटका लागि लड्नेछु । हामीसँग स्पष्ट योजना छ ।’

बेलायतको अभ्यास अनुसार संसद्को पहिलो बैठकको पाँचौं वार्षिकोत्सवपछि मात्र संसद् विघटन हुन्छ । वर्तमान संसदको वार्षिकोत्सव १७ डिसेम्बर २०२४ मा हुने तय भएको थियो ।

संसद् विघटनपछि निर्वाचनको तयारीका लागि २५ कार्यदिन दिइएको छ । यदि नियमित प्रक्रिया अपनाएको भए बेलायतमा सन् २०२५ को जनवरी २८ भित्र चुनाव हुने थियो ।

  • एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्