सहकारी सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउने सम्बन्धमा कार्यदलको बैठक बस्दै
काठमाडौं,१० जेठ । सहकारी संस्थाको रकम हिनामिना गरेको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरुबीच कार्यादेशमा सहमति नजुट्दा अघिल्ला थुप्रै पटकका बैठक निष्कर्षविहीन हुँदै आएका छन् । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यादेशको मस्यौदा ल्याउन भनेको थियो ।
मंगलबारको बैठकपछि कार्यदलका संयोजक एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कांग्रेस लचक बनेको भन्दै आगामी बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यदलमा नेकपा एमालेबाट पदम गिरी र महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपा नेता शिशिर खनाल छन् ।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएनन् । गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो ।
नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना गरेको विषयमा छानबिन गर्न गठन गर्न संसदीय छानबिन समितिको माग गर्दै लामो समयदेखि संसद अवरुद्घ गर्दै आएको छ । संसदीय कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ । संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्