एशियन लाइफको तेस्रो त्रैमासको रिपोर्टमा गोलमाल, नाफा र अन्य सूचकमा फेरबदल

काठमाडौं,९ जेठ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा गोलमाल गरेको देखिएको छ ।

इन्स्योरेन्सले केहि अघि प्रकाशित तेस्रो त्रैमासको रिपोर्ट र पुःन मंगलबार प्रकाशित रिपोर्टमा मुख्य वित्तीय सूचकहरुमा ठूलै फेरबदल देखिएको हो । नाफाकै कुरा गर्ने हो भने अघिल्लो प्रकाशित रिपोर्टमा ६९ करोड ११ लाख रुपैयाँ मुनाफा भएको भनिएको छ । जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा २५४.९२ प्रतिशतले बढी रहेको देखाइएको थियो । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले १९ करोड ४७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको देखाइएको थियो ।

दोस्रो पटक प्रकाशित रिपोर्टमा भने समीक्षा अवधिसम्म २० करोड ९८ लाख रुपैयाँमात्रै नाफा आर्जन भएको देखाइएको छ । त्यस्तै अघिल्लो वर्ष सोही अवधिसम्म १४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन भएको देखाइएको छ । यो हिसाबले अघिल्लो वर्षको तुलनामा ४३।६९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो प्रकाशित रिपोर्ट र अहिलेको रिपोर्टमा नाफामै ४८ करोड १३ लाख रुपैयाँ अन्तर देखिएको छ ।

महाविपत्ति कोषमा पनि फेरबदल भएको छ । अघिल्लो रिपोर्टमा तेस्रो त्रैमाससम्म महाविपत्तिमा २६ करोड ३४ लाख रुपैयाँ रहेको देखाइएकोमा अहिलेको रिपोर्टमा २१ करोड ५३ लाख रुपैयाँमात्रै देखाइएको छ ।

त्यस्तै, अघिल्लो रिपोर्टमा वार्षिकीकृत प्रतिशेयर आम्दानी  बढेर २९.२० रुपैयाँ कायम भएको देखाइएको थियो । अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ८.२३ रुपैयाँ रहेको उल्लेख थियो । अहिलेको रिपोर्टमा भने वार्षिकीकृत ईपीएस ८.८७ रुपैयाँमात्रै रहेको देखाइएको छ । जब अघिल्लो वर्ष यही अवधिसम्म ६.१७ रुपैयाँ ईपीएस रहेको उल्लेख छ ।

पहिलो रिपोर्टमा पीई रेसियो १९.१९ गुणा र प्रतिशेयर नेटवर्थ १२९.१९ रुपैयाँ रहेको देखाइएको थियो । दोस्रो रिपोर्टमा पीई रेसियो ६३.१९ प्रतिशत र प्रतिशेयर नेटवर्थ ११५.६१ रुपैयाँ रहेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्