कान्तिपुर ध्यक्ष कैलाश सिरोहिया जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा, आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी
काठमाडौँ। ९ जेष्ठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर अध्यक्ष सिरोहियालाई धनुषा लगेको हो ।
अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा कार्यकक्षबाटै गिरफ्तार गरिएको हो । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा ल्याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उनलाई आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी छ । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए ।
जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।
सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।
स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।
मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्