इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना
काठमाडौं,७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा आगलागी भएका हुँदा त्यसमा सवार व्यक्तिहरु जिवित रहने सम्भावना अत्यन्त कम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन ।’
यस सम्बन्धमा इरान सरकारबाट कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।
अजरबैजानस्थित एक कार्यक्रमबाट राष्ट्रपति रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।
इरानी अधिकारीहरुले राष्ट्रपति सवार हेलिकप्टर पूर्णरुपमा जलेको बताएका छन् ।
खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरेको र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरेको थियो भन्ने अपुष्ट समाचार आइरहेको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्