प्रतिनिधि सभाको बैठक सोमबार बस्दै, यस्तो छ कार्यसूचि

काठमाडौं, ७ जेष्ठ। संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

यस्तै प्रधानमन्त्री प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने पनि आजको बैठकको कार्यसूची रहेको छ।

सभामुख घिमिरेले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका निम्ति धन्यवाद दिने कार्यसूची पनि छ।

प्रधानमन्त्रीले धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नेछन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्