प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
काठमाडौं, ७ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।
जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।
उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५७ मत कम पाएका थिए ।
सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने चेतावनी दिएको छ । त्यसको रणनीति बनाउन कांग्रेसले आज बिहान संसदीय दलको बैठकसमेत बोलाएको छ । यसले गर्दा आजको संसदमा प्रधानमन्त्री विश्वासको मत लिने अवस्था के होला भन्ने अन्योलता छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस्