रियल म्याड्रिडद्वारा फुयेनलाब्राडा स्तब्ध

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले फुयेनलाब्राडालाई कोपा डेल रेको अन्तिम ३२ को पहिलो लेगमा गए राति २–० ले हराएको छ । स्पेनिस लिगको तेस्रो डिभिजनको क्लबलाई हराउँन रियलले पेनाल्टीको सहारा लिनुपरेको थियो । दुवै पेनाल्टी दोस्रो हाफमा भएको थियो ।

अघिल्लो खेलबाट ६ खेलाडी परिवर्तन गरेको रियललाई पहिलो गोल गर्न खेलको ६३ औं मिनेटसम्म पर्खनु पर्यो । फ्रान गार्सियाले १८ वर्षीय अच्राफ हाकिमीलाई फल गर्दा पाएको पेनाल्टीलाई मारको असेन्सियोले गोलमा परिणत गरेका थिए ।

दोस्रो पहेलो कार्ड पाउँदै फुयेनलाब्राडाका खेलाडी पाको काण्डेला बाहिरिएपछि खेलको ७९ औं मिनेटमा घरेलु टोली १० खेलाडीमा सिमित भयो । काण्डेलाको फलमा पाएको पेनाल्टीमा लुकास भाजक्वेजले रियललाई पेनाल्टी मार्फत दोस्रो गोल दिलाए । रियलका २१ वर्षीय जिसस भालेजोले डेब्यु खेलको ८९ औं मिनेटमा सोझै रातो कार्डको सामना गरे ।

प्रतिक्रिया दिनुहोस्