गृहमन्त्रीले बोलेपछि उठे कांग्रेसका सांसदहरू, सभामुखले दिएनन् प्रतिपक्ष कांग्रेस बोल्न समय

काठमाडौं,६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा बोलेका छन् ।

आफूमाथि लागेका आरोपबारे गृहमन्त्री लामिछानेले आइतबार अपराह्नको प्रतिनिधि सभा बैठकमा जबाफ दिएका हुन्।

लामिछानेले सहकारीको बचत अपचलन नगरेकोे बारम्बार दावी गरि राखेका छन् । संसदीय छानबिन समिति गठनका लागि आफूहरू तयार भएको तर व्यक्ति केन्द्रित समिति बनाउने कि नबनाउने सोच्न उनले प्रमुख प्रतिपक्षी कांग्रेसलाई आग्रह गरेका छन् ।
गृहमन्त्री लामिछाने बोलेर सकेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेका थिए । बोल्न पाउनुपर्ने उनीहरूको माग थियो ।
कांग्रेसले यस अघिनै गृहमन्त्री रबि लामिछाने बोलिसकेपछि उनको जवाफ चित्त नबुझेम बोल्न पाउनु पर्ने अडान थियो । तर सभामुख घिमिरेले आज शुन्य समयलगायत कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए ।

सभामुख घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

संघीय संसद भवनको ल्होत्से हलमा थापाले आइतबार बेलुकी पत्रकार सम्मेलन राखेका हुन्। गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा बोल्दा कांग्रेसका महामन्त्री थापा, धनराज गुरुङ्ग, आरजु देउवा, रामहरि खतिवडालगायत नेताहरुलाई नाम नलिइ उनीहरु प्रति लक्षित गर्दै अभिव्यक्ति दिएका थिए ।

प्रतिनिधि सभा बैठक सुरू हुनुअघि कांग्रेसका सांसदहरूले सभामुखलाई भेटेर गृहमन्त्रीले बोलेपछि कांग्रेसले बोल्न समय पाउनुपर्ने माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्