प्रहरी जवानको हत्यामा संलग्न आरोपमा ७ जना पक्राउ

काठमाडौं, ६ जेष्ठ। काठमाडौंको तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवानको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन्।

दरबारमार्ग ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या भएको अवस्थामा शुक्रबार हरियोचौरको निर्माणधीन दुइतले घरमा शव भेटिएको थियो।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार ७ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ की २१ वर्षीया बिपना, बसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की छन्।

त्यस्तै नुवाकोटको तानी गाउँपालिका–४ ओखरे घर भएकी २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक छन्।

उनीहरू सबैजना बालाजु, जरंखु, मनमैजु लगायतका स्थानहरूका निर्माणाधीन घरहरूलाई आश्रय बनाएर बस्ने गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

उनीहरूलाई भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए।

प्रहरीका अनुसार सचिन र अञ्जली लिभिङ टुगेदरमा थिए।

प्रारम्भिक अनुसन्धानबाट प्रहरी जवान घिमिरे बिहीबार आफ्नो ड्युटी सकेर एक होटलमा खाजा खान गएका थिए। सोही होटलमा सचिन र अञ्जली पनि थिए।

प्रहरीका अनुसार सचिन र घिमिरेबीच सामान्य चिनजान थियो र कसरी चिनजान भएको भन्ने खुलेको छैन।

सोधपुछका क्रममा सचिनले बिहीबार प्रहरी जवान घिमिरे खाजा खान गएको होटलमा आफू पनि अञ्जलीसँगै रहेको बताएका छन्। त्यहाँ घिमिरेले अञ्जलीलाई जिस्काएपछि आफूलाई रिस उठेको उनले प्रहरीलाई बताएका छन्।

त्यसपछि उनले आफू र अञ्जलीलाई हरियोचौरसम्म पुर्याइदिन आग्रह गरेका थिए। प्रहरी जवान घिमिरेले नै सचिन र अञ्जलीलाई मोटरसाइकलमा राखेर हरियोचौरस्थित निर्माणाधीन घरमा पुर्‍याएका थिए।

एसएसपी रजौरेका अनुसार त्यहाँ सचिनका समूहका अन्य व्यक्तिहरू पहिल्यैदेखि बसेका थिए। त्यहाँ पुर्‍याइएपछि कुटपिट गरी घिमिरेको हत्या भएको थियो।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको एसएसपी रजौरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्