प्रतिनिधिसभाको बैठक आज बस्दै , राजनीतिक सहमती बिनै चल्ला त बैठक ?

काठमाडौं, ४ जेष्ठ। संघिय सभाको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी रहेपछि लामिछानेले बोल्न पाएनन् ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरुले मानेका छैनन् । यसले गर्दा आजको बैठक पनि चल्छ या चल्दै भन्ने कुरा अन्यौलमा छ । राजनीतिक दलहरुबचि सहमती हुन सकेको छैन ।

आजको बैठकमा  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।  त्यस्तै  प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन् ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्