चार बजे सर्‍यो संसद बैठक

काठमाडौं, ३ जेष्ठ। प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजेका लागि राखिएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर बैठक सारेका हुन् । केहीबेर अघि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेका थिए । त्यसपछि सभामुखले बैठक चार बजेका लागि तोकेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका अनुसार आजको बैठकमा नै गृहमन्त्री रवि लामिछानेलाई बोल्ने गरी वातावरण निर्माणको प्रयास भइरहेको छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले बुधबार पनि कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्