सात बाछिटाकृति र एक समालोचनाकृति एकसाथ विमोचन

काठमाडौँ । कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको सहकार्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ८ वटा कृतिहरूको एकसाथ विमोचन गर्नुभएको थियो ।

प्रमुख अतिथि राईले बाछिटाकविताले प्रकृतिको दर्शनलाई आत्मसात् गर्दै प्रकृतिलाई मानवीकरण गरिने सैद्धान्तिक स्वरूपका बाछिटा तीक्ष्ण अभिव्यक्ति हुने भएकाले लेखकहरूको आकर्षण बढेको पनि बताउनुभएको थियो। उहाँले बाछिटा सिद्धान्तका प्रवर्तक अमर त्यागी नेपाली साहित्यको प्रयोगवादी धारका निष्ठावान् सर्जक रहेको उल्लेख गर्दै विमोचित सबै बाछिटाकृति नवीनतम सिर्जनात्मक प्रयोगका नमूना रहेको पनि बताउनुभएक‍ो थियो।

यसैगरी कार्यक्रममा बाछिटा कविताका सिद्धान्त प्रवर्तक अमर त्यागीद्वारा रचित अव्यक्त बाछिटासङ्ग्रहलगायत दीपक गौतमद्वारा लिखित समालोचनाकृति ‘अमर त्यागीका कवितामा वस्तुविधान’,डा.घनश्याम परिश्रमीको अनन्य ,हरिभक्त सिग्देल ‘महेश’को अनित्य ,भगवती दवाडी अधिकारीको अमूर्त ,सिर्जना खनालको अन्तर्य र यज्ञलाल सुवेदीको अमूल्य र जानुका गुरागाईंको अज्ञात बाछिटाकृतिको विमोचन समारोह सुसम्पन्न भएको थियो। त्यसरी नै प्रत्येक बाछिटाकारहरूले आआफ्ना बाछिटा वाचन गर्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट प्रज्ञा-प्रतिष्ठानका कुलपति प्रा.डा. घनश्याम परिश्रमी , नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला र बाछिटा सर्जक खगेन्द्र बस्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी बाछिटा सिद्धान्तका प्रवर्तक अमर त्यागीले प्रकृति बिम्बसहित जीवन ,जगत् र भोगाइका विविधाङ्गी संवेगहरूलाई प्रतीकात्मक रूपमा अभिव्यञ्जित गर्नु नै बाछिटालेखनको मूल मान्यता हो । विषयवस्तुलाई सङ्केतका रूपमा व्यक्त गर्दै एउटा मार्मिक भावसंवाहन गर्नु बाछिटालेखनको मूल अभिलक्षण हो भन्नुभएको थियो। उक्त कार्यक्रममा बाछिटा सिद्धान्तका प्रवर्तक अमर त्यागीलाई सुभाना मिडिया प्रा. लिद्वारा राष्ट्रिय मिडिया सम्मान र बाछिटाकृतिकारलाई कौशिकी बाछिटा संबर्धन सम्मानद्वारा सम्मानित गरिएको थियो । भुँडी पुराण प्रकाशनका सञ्चालक केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण कवयित्री सुशीला शर्मा धमलाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्