लोकतन्त्रको दुहाई दिने कांग्रेसले संसदमा रविलाई बोल्न दिनुपर्छ, खाली आरोपमात्र सुनिरहने हामी ?: ओली

काठमाडौ, जेठ २ । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छन्।

लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको भनाइ छ।

नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दल बैठकमा ओलीले भने, ‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने ? अर्को दिनबाट हामी पनि बोल्ने हो। कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने?’

उनले अब सदनमा कांग्रेसलाई बोल्न नदिने पनि बताए।

‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने? बकवास बोलिरहने? अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’

उनले बिहीबारदेखि संसद सुचारू हुनुपर्ने पनि बताए। संसदको यो समय कांग्रेसको लहडबाजीमा बरबाद गरिनु हुँदैन। सरकार खुस्कियो होला त अनि रविलाई चिथोर्ने?,’ ओलीले भने, रविको कमीकमजोरी छन् भने निकाय छन् कारबाही गर्ने। जसका बारेमा पनि कांग्रेस जे पनि बोलिदिने ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरिरहेको छ।

कांग्रेसले अबदेखि सदनमा गिरीबन्धु टी–इस्टेटबारे पनि आवाज उठाउने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्